नेविसंघको तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति थपिए

काठमाडौँ, कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको तदर्थ समिति विस्तार गरेका छन् । बिहीबार राजीव ढुंगानाको अध्यक्षतामा बनाएको तदर्थ समितिमा देउवाले आइतबार २ उपसभापति र ५ महामन्त्री थपेका छन् । योसंगै तदर्थ समिति १० सदस्यीय भएको छ । देउवाले उपसभापतिमा तुलसा पन्त झापा र मुक्तिराज पौडेल रुपन्देहीलाई मनोनित गरेका छन्।त्यस्तै महामन्त्रीमा दीपक भट्टराई तनहुँ, उर्मिला थपलिया धादिङ, प्रभातकुमार दाहाल मकवानपुर, बलदेव तिमल्सीना सिन्धुपाल्चोक र युवराज पाण्डे स्याङ्जालाई मनोनित गरेका हुन्।

नेता कृष्णप्रसाद सिटौला समूहको सिफारिसमा उपसभापतिमा पन्त र पौडेल तथा महामन्त्रीमा तिमल्सीना र पाण्डेलाई देउवाले मनोनित गरेका हुन् । उपसभापतिमा मनोनित पन्त रञ्जित कर्ण नेतृत्वको तदर्थ समितिमा केन्द्रीय सदस्य थिइन् भने पौडेल ११ औं महाधिवेशनमा उपसभापतिमै पराजित भएका थिए। तिमल्सीना पूर्वसहमहामन्त्री हुन् भने पाण्डे पूर्वकेन्द्रीय सदस्य हुन्।

त्यस्तै नेता रामचन्द्र पौडेल समूहको सिफारिसमा देउवाले भट्टराई, थपलिया र दाहाललाई महामन्त्रीमा मनोनित गरेका हुन् । महामन्त्रीमा मनोनित भट्टराई ११ औं महाधिवेशनमा महामन्त्रीमै पराजित भएका थिए भने थपलिया उपसभापति थिइन् । दाहाल भने कांग्रेसको १३ औं महाधिवेशनमा मकवानपुर जिल्ला सभापतिमा पराजित भएका थिए। पौडेल समूहभित्र थपलिया महामन्त्री शशांक कोइराला, दाहाल पूर्वमहामन्त्री प्रकाशमान सिंह र भट्टराई नेता पौडेलको सिफरिसमा महामन्त्री बनाएका हुन् ।

अध्यक्षमा ढुंगानालाई मनोनित गर्दा देउवाले मनोज वैद्य काठमाडौं र महेश्वरी कुँवर पाल्पालाई महामन्त्री बनाएका थिए। दुवै महामन्त्रीलाई देउवाले आफ्‍नो काेटाबाट मनाेनित गरेका हुन्।

१० माघमा कांग्रेस शीर्ष नेताहरुबीच नेविसंघको तदर्थ समिति पदाधिकारीसहित १२७ सदस्यीय बनाउने सहमति बनेको थियो। समितिमा९ महामन्त्री, ६/६ सहमहामन्त्री बनाउने सहमति गर्दै नेताहरुले भागबण्डा गरेका थिए। सभापति देउवा समूहले अध्यक्षसहित ३ महामन्त्री तथा २/२ उपसभापति र सहमहामन्त्री लिने, पौडेल समूहले ३ महामन्त्री र २/२ सहमहामन्त्री लिने, सिटौला समूहले महामन्त्री, उपसभापति र सहमहामन्त्री २/२ जना लिने सहमति भएको थियो। उपसभापति विजयकुमार गच्छदारलाई १ महामन्त्री दिने सहमति नेताहरुले गरेका थिए।

त्यही सहमति अनुरुप पौडेल र सिटौला समूहको सिफारिसमा देउवाले तदर्थ समिति विस्तार गरेका हुन्