गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मुस्लिम समुदायको सहयोग

भरतपुर, धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई चितवनका मुस्लिम समुदायले आर्थिक सहयोग र श्रमदान गरेका छन् ।चितवनका बिभिन्न स्थानमा रहेका ६ वटा मस्जिद ब्यवस्थापन समितिको पहलमा संलकन गरिएको रकम शुक्रबार रंगशालामा पुगेर फाण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

चितवनको नारायणगढमा रहेको बर्कातीया मस्जिद, मक्कि मस्जिद बेलचोक, भरतपूरको नुरी मस्जिद, न्यूरोडको मदनी मस्जिद, मनहरी मस्जिद र झनझने मस्जिदमा संलकन भएको २७ हजार १ सय ८५ रुपैया मुस्लिम समुदायले रंशाला निर्माण सहयोगका लागि हस्तान्तरण गरिएको बर्कातीया मस्जिद ब्यवस्थापन समितिका सचिव आजम खानले वताए । रंगशाला सबैको सम्पती भएको र यो अभियानमा सहयोग गर्नु हामी सबैको दायित्व र जिम्मेवारी उनको भनाई छ ।

साथै बुद्धको नाममा बन्दै गरेको रंगशालामा हामी मुस्लिम समुदायको पनि साथ सहयोग रहनुभनेको धार्मिक सहिष्णुता र मेलमिलापको उच्चतम नमुना भएको वताए ।
त्यस्तै शुक्रबार चितवनका झण्डै डेढ सय जना मुस्लिम समुदायले रंगशालामा दिनभर श्रमदान समेत गरेका छन् । दिनभर ढुंगा बोक्ने, सरसफाई गर्ने लगायतका काममा उनिहरुले श्रमदान गरेको खानले बताए ।

मुस्लिम समुदायबाट यो पहिलो चरणको सहयोग रहेको र अबको प्रत्येक ३/३ महिनामा यो अभियानलाई निरन्तरता दिने योजना समेत उनिहरुको छ ।