२१ लाख पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्ड कप हुँदै

धनगढी, शुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करण फागुन ९ गतेदेखि आयोजना हुने भएको छ ।आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै फागुन ९ गतेदेखि फागुन २० गतेसम्म प्रतियोगिता हुने जनाएको छ ।

चौधरी ग्रूपको नेपाल आइसले मुख्य प्रायोजन गरेपछि आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब प्रतियोगिताको तयारीमा समेत जुटेको छ ।

प्रतियोगिता सञ्चालनमा लागि विभिन्न उपसमिति बनाइएको जानकारी क्लबका अध्यक्ष सुरेश हमालले दिए । प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए ।

२ विदेशीसहित १२ टीम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

धनगढी रंगशालामा हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०र१० हजार पुरस्कार प्रदान गरिने छ ।

फिफा र एन्फाको नियम अनुसार खेल नकआउट चरणमा खेलाईने छन् । १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष तथा २ करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दाबी गरेको छ ।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फूटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम ११ स्पोर्टस् क्लबले विगत ४ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।