मुकुण्डोधारी समुहको कुटाईबाट गम्भिर घाइते नेकपा अध्यक्ष जोशीलाई काठमाडौं लगियो

डडेल्धुरा, अज्ञात मुकुण्डोधारी समूहको कुटपिटबाट गम्भीर घाइते भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई उपचारका लागि काठमाडौं लगिएको छ ।धनगढीमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो।

शुक्रबार अध्यक्ष जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए। आलिताल गाउँपालिका ३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जानेक्रममा उनलाई अपहरण गरी कुटपिट गरेको हो।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीका अनुसार आलिताल तालभन्दा करिब पाँचसय मिटरमाथि चौर वण्डले भन्ने स्थानमा १०/१२ जनाको मुकुण्डो धारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको हो।

उनको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ। उनलाई एम्बुलेन्समार्फत धनगढी लगिएको थियो। र, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई संघीय राजधानी काठमाडौं लगिएको नेकपा डडेल्धुराले जनाएको छ। जोशी सवार से. ६ प ७९२६ नम्बरको मोटरसाइकलमा तोडफोडा तथा आगजनीको समेत प्रयास गरिएको छ।

जोशी सँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएकी थिइन्। प्रहरीले मुकुण्डोधारी समूहको खोजी कार्य तीव्र पारेको छ। भित्रीमधेस क्षेत्र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको प्रभाव क्षेत्रका रूपमा पनि लिइन्छ। घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन।