पुर्वाधार विकाश कार्यालयमा बम बिस्पोट, कस्ले लियो जिम्मा ?

डडेल्धुरा, डडेल्धुराको एक सरकारी कार्यालयमा बम विष्फोट गरेर क्षति गरेको घटनामा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको छ।सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेल्धुरामा आइतबार मध्यरातमा बम विष्फोट गराइएको थियो।

पार्टी जिल्ला सेक्रेटरी विजयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विष्फोट आफूहरूले गराएको जानकारी दिएका हुन्। ‘विप्लव’ नेकपाले उक्त विष्फोटलाई ‘सांकेतिक कारबाही गरिएको’ भनेको छ।
‘भौतिक पूर्वाधार मन्त्रालयको मिलेमतोमा आ-आफ्ना आसेपासे आफ्ना पार्टीनिकट कार्यकर्तालाई मात्रै ठेक्कापट्टा टेण्डर र उपभोक्ता समितिमा पार्ने गरी योजना वितरण गर्ने र सोही योजनाबाट १५ प्रतिशतसम्म कमिशन खाई गुणस्तरहीन संरचना पास गर्ने प्रमुख एजेन्टको रूपमा रहेको डडेल्धुराको पूर्वाधार विकास कार्यालयमा सांकेतिक कारबाही गरिएको छ।’ पार्टी जिल्ला सेक्रेटरी विजयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

नेकपाले भविष्यमा जनघाती क्रियाकलाप नरोकिए कडा कारबाही गर्ने चेतावनीसमेत प्रेस विज्ञप्तिमार्फत दिएको छ।
बम विष्फोटले कार्यालय प्रवेश गर्ने मुख्य ढोकामा क्षति पुगेको थियो भने झ्यालका सिसाहरू काम नलाग्ने गरी फुटेका थिए। डोटी र डडेल्धुरा कार्य क्षेत्र रहेको उक्त कार्यालय कारागार कार्यालयको एक सय मिटर मात्र टाढा रहेको छ। जिल्ला सदरमुकाम क्षेत्रमै बम विष्फोटपछि यहाँका स्थानीय आतंकित भएका थिए।