वीरेन्द्रनगरमा कर्फ्यू

वीरेन्द्रनगर, टिपरको ठक्करबाट एक युवकको मृत्युपछि वीरेन्द्रनगर बजारमा भएको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको छ ।मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रशासनले कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी वषन्त अधिकारीले जानकारी दिए। भर्खरै सम्पन्न सुरक्षा समितिको वैठकले उग्र रुप लिएको प्रदर्शनले धनजनको क्षति हुन सक्ने भन्दै कर्फ्यू आदेश गरेको उनले बताए।

प्रशासन कार्यालयले कर्फ्यू आदेश सूचना जारी गर्दै पूर्वमा ईत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यू लाग्ने जनाएको छ। कर्फ्यू लागेको समयमा तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन वा अन्य कुनै पनि काम गर्न नपाईने भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। कर्फ्यू तोड्ने जो कोहीलाई पनि आवश्यकताअनुसार सुरक्षाकर्मीले गोली समेत चलाउन सक्ने भन्दै प्रशासनले आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ।

टिपरको ठक्करबाट कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २१ वर्षीय केशरबहादुर सिंहको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको थियो। भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको हो। प्रत्यक्षदर्शीका अनुसार उनलाई करिब २० मिटर टाढासम्म टिप्परले घिसार्दै लगेको थियो।

सिंहको मृत्युपछि दोषीलाई कारवाहीको माग गर्दै मृतक सिंहका आफन्त र स्थानीयले दिनभर बजारमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरुले केही पसलहरुमा तोडफोड पनि गरे। प्रदर्शनकारीले दिनभर बजार बन्द गराई कारवाहीको माग गर्दै ठाउँ–ठाउँमा टायर बाल्दै नारावाजीसहित प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीको अवरोधका कारण सवारी साधन पनि चल्न सकेका छैनन्। चालकको लापरबाहीले दुर्घटना भएको भन्दै मृतक सिंहका आफन्त र स्थानीयले कडा कारबाहीको माग गरेका छन्। उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। प्रदर्शनकारीको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले केही राउण्ड हवाई फायरसमेत गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी डिल्लीराज पन्तले प्रहरी र आन्दोलनकारी दुबैतर्फ केही व्यक्ति घाईते भएको बताए।