गायिका आस्था राउत बिरामी,अस्पताल भर्ना

काठमाडौ । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको हो । राउतलाई अस्पतालको चौथो तल्लाको ४२३ नम्बर बेडमा राखेर उपचार भैरहेको अस्पताल प्रशासनले जनाएको छ । राउतको उपचारमा डा. सुभाषचन्द्र यादवको टोली खटिएको छ । तर, गायिका राउतलाई के भएको भन्ने कुरा खुलाइएको छैन ।

राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो । सोमबार साँझ ८ बजेसम्म काठमाडौ परिसरमा रहेकी राउतले आफू हिरासतमा नबस्ने भनेपछि अस्पताल लगिएको स्रोतले जनाएको छ । गायिका राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।

त्रिभुवन विमानस्थलमा माघको पहिलो साता राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौज गरेकी थिइन् । राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो ।