गृहमन्त्री बादल आएकै दिन सुर्खेतमा विप्लव समूहको प्रदर्शन

सुर्खेत, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आधारभूत रूपमा नियन्त्रण गरेको अभिव्यक्ति दिएकै दिन नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका छन्।

सरकारद्वारा प्रतिवन्धित विप्लव नेकपाका कार्यकर्ताले व्यानरसहित सुर्खेतमा प्रदर्शन गरेका हुन्।

आफ्ना नेता तथा कार्यकर्तालाई झूट्टा मुद्दा लगाइ जेल र हिरासतमा राखेकोले तिनीहरूको रिहाका लागि दबाबमूलक संघर्ष गर्ने नीतिअनुसार विरोध प्रदर्शन गरेको जनाइएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित आफ्ना धेरै कार्यकर्तालाई ओली-प्रचण्ड सरकारले गैरन्यायिक ढंगले जेलमा राखेको भन्दै सुर्खेतमा विरोध प्रदर्शन गरेको जनाइएको छ।

सरकारले आस्थाका बन्दीलाई झुट्टा मुद्दा लगाएको र अदालतले छाड्न आदेश दिए पनि कानुनको बर्खिलाप हुने गरी पटकपटक थुनामा राखेपछि उनीहरूको रिहाका लागि दबाबमूलक कार्यक्रमस्वरूप कर्णालीको राजधानी सुर्खेतमा फोटा प्रदर्शनसहित विरोध प्रदर्शन गरिएको हो। बिहान मात्रै गृहमन्त्री थापा सरकारले संविधान र राज्य विरोधी तत्त्वलाई नियन्त्रण गर्न सरकार सफल रहेको बताएका थिए।