कोहलपुरमा घरेलु हातहतियारसहित पाँच पक्राउ

बाँकेको कोहलपुरबाट घरेलु हातहतियार लिएर हिडेका पाँच युवा पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नं १० स्थित एक होटलमा घरेलु हतियार जम्मा गरेर आक्रमणको योजना बनाईरहेको अवस्थामा ५ जना युवाहरुलाई कोहलपुर प्रहरीले आइतबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज रणविर विष्टले घरेलु हातहतियारसहित युवाहरुलाई पक्राउ गरेको पुष्टी गरे ।

‘विशेष सूचनाका आधारमा कार्यालयबाट पुगेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो’ उनले भने, ‘अहिले हिरासतमा लिएर उनीमाथि अनुसन्धान अगाडि बढाएका छौं ।’ कोहलपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का अंकित थापा, प्रविन थापा, समिर खान, बारबर्दिया नगरपालिका बर्दियाका प्रितम थापा र खजुरा गाउँपालिका बाँकेका रबि विक रहेका छन् ।

उनीहरुले प्रहरी समक्ष होटल मालिकको छोरो साथी भएको र उनको आग्रहमा नै कोहलपुर पुगेको बयान दिएका छन् । फरार होटल मालिकका छोराको खोजी भइरहेको कोहलपुर प्रहरीले जनाएको छ । स्रोतका अनुसार शनिबार साँझ उक्त होटलमा आएका ग्राहकको एक समुहले बबाल मच्चाएको थियो । सोही क्रममा होटलका मालिकमाथि हातपात हुनुका साथै कुर्सी टेबुलमा समेत तोडफोड भयो ।

सोही समुहका एक सदस्यलाई आक्रमण गर्ने लक्ष्यका साथ कोहलपुरबाट होटल मालिकका छोराले गुण्डागर्दीमा संग्लन एक युवाहरुको समुह हातहतियारसहित नेपालगञ्जबाट आइतबार बोलाएका थिए । समयमा नै कोहलपुरबाट खटिएको सादा पोशाकको प्रहरीले सुचना पाउँदा ठूलो घटना हुनबाट जोगिएको हो । कोहलपुर प्रहरीका अनुसार होटलमा तोडफोड गर्ने समुहका विरुद्द आइतबार होटल मालिकले उजुरी दिएका छन् । दुवै घटनाबारे अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।