माडीको विकासका लागि सहयोग गर्न तयार छु

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको माडीको विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेका छन् ।

उनले केही बर्षभित्रै माडी दुर्गमबाट सुगममा परिणत हुने दावी समेत गरे । माडीको विकासका लागि आफूले माडीको जनप्रतिनिधि र एउटा पार्टीको अध्यक्षको हैसियतले माडीका जनताका समस्या समाधान गर्न माडीको पर्यटन र कृषिको विकास गरेर अघि बढ्न सकिने बताए ।मंगलबार ‘प्रथम माडी खिचरा महोत्सव २०७६’ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफूले निर्वाचनका बेला माडी दुर्गम क्षेत्र रहँदैन भनेर गरेको प्रतिवद्धता क्रमशः पुरा हुँदै गएको बताए ।

प्रचण्डले ठोरी–केरुङ जोड्ने बाटो बन्दै गएको भन्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘माडीलाई मणी बनाउन सकिन्छ । प्रचण्डले भने, ‘मैले माडीको विकासका लागि के गरिरहेको छु भन्ने कुरा माडीका जनप्रतिनिधिहरुले देखिरहनुभएको छ ।’विद्युत, शिक्षा, रिङरोडलगायतका विषयमा आफू विकास गर्न लगातार बहस र संघर्षमा रहेको प्रचण्डको भनाई छ । उनले राष्ट्रिय निकुञ्जका कारण मानिसहरुले धेरै दुःख पाएको भन्दै त्यो ऐन संशोधनको पक्षमा आफूले काम गरिहरेको बताए ।उनले आउने तीन बर्षमा सबैले देख्नेगरी अर्कै ठाउँमा पुग्ने बताए ।

सम्बोधनका क्रममा प्रचण्डले माडीलाई सुगम, सम्मृद्ध र केन्द्रसँग जोड्न आफू क्रियाशिल रहेको भन्दै राष्ट्रिय निकुञ्ज र माडीका जनताबीचको सम्बन्धमा आएको तिक्तता मेट्ने प्रयास भइरहेको बताए ।उनले माडीका जनताको सम्मानकै लागि केही दिनअघि राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्दा नेकपाका नेता स्व. डीआर पौडेलकी धर्मपत्नी गंगा बेल्वासेलाई छानिएको भन्दै अब माडीबासीको प्रतिनिधित्व राष्ट्रियसभामा पनि हुने बताए ।उनले केन्द्रीय राजनीतिमा केही जटिलता उत्पन्न हुन लागेको भन्दै यस्तो बेला पार्टीका साथीहरुले बाहिर नजान गरेको आग्रहलाई पनि वेवास्ता गर्दै २ घण्टाका लागि भएपनि आफू माडी आएको बताए ।