महँगीले एक छाक कटाउनै मुस्किल,कसरी मनाउने चाडपर्व?

हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन्, महँगी लगातार बढिरहँदा यस्ता पहिचान बोकेका चाडपर्व मनाउन भने सर्वसाधारणलाई हम्मेहम्मे पर्ने गरेको छ ।

हुनेखानेका लागि यस्ता पर्व ठूलो अवसर भए पनि गरिब तथा विपन्नका लागि भने ठूलो चुनौतीका रूपमा देखिने गरेका छन् । दैनिक उपभोग्य वस्तुदेखि चाडपर्वमा प्रयोग हुने वस्तुको मूल्य अकासिँदै गएपछि सर्वसाधारणलाई चाडपर्व मनाउन मुस्किल हुन थालेको हो ।नियमक निकायको प्रभावकारी बजार अनुगमन नहुँदा व्यापारीले मनपरी सर्वसाधारणबाट मूल्य असुल्दै आएको उपभोक्ताको गुनासो छ ।

रामेछाप घरभई हाल अनामनगर बस्दै आएकी अम्बिका मगर माघेसंक्रान्तिका लागि तरुलको मूल्य सोध्दा लामो सास फेर्दै भन्छिन्, ‘उफ ! कति साह्रो महँगी बढेको हो ? किनेर खान नसकिने भयो ।’ विगतमा प्रतिकेजी २० देखि ३० रुपैयाँमा पाउने तरुलको मूल्य अहिले १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँमा सम्म पुगेको उनी बताउँछिन् ।

दिन प्रतिदिन बढ्दै गएको महँगीले बिहान बेलुका एक छाक कटाउनसमेत मुस्किल हुन थालेको छ । ‘चाडपर्व कसरी मनाउने ? महँगीले गर्दा चाडपर्व खुसीसाथ मनाउन सकिएको छैन, चिन्ता बढ्न थालेको छ,’ उनले भनिन् । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।