जथाभावी बाटो काट्ने पैदल यात्रीले २० मिनेट सचेतना कक्षा लिनुपर्ने

काठमाडौं ,महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी रुपमा बाटो काट्ने पैदल यात्रीलाई कारवाहीस्वरुप सचेतना कक्षा दिने भएको छ ।

अब पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले जस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्ने भएको हो ।महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा या बाटो काट्दा ट्राफिक नियम पालना नगरी उल्लङ्घन गरे पैदलयात्रीले २० मिनेटको सचेतना कक्षा लिनुपर्ने छ । यो व्यवस्था आज (सोमबार) बाट शुरु भएको हो ।

सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ र साथै उनीहरुकै माध्यमबाट घर–घरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिने जनाइएको छ ।हाललाई यो नियम भोटाहिटी र वीर अस्पताल अगाडि सञ्चालन गरिएको महाशखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जनाए ।

कार्यक्रम सञ्चालन भएकै दिन अर्थात् सोमवार मात्र करिब १ हजार पैदलयात्रीलाई सचेतना कक्षा दिइएको प्रहरीले जनाएको छ ।पैदलयात्रीले जथाभावी बाटो काट्दा हुने सवारी जाम हटाउनका लागि यो अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।

यसअघि प्रहरीले जथाभावी बाटो काट्ने र आकाशे पुलको प्रयोग नगरी बाटो काट्नेलाई जरिवाना तिराउने नियम ल्याएको थियो । तर, विवाद भएपछि जरिवाना हटाइएको थियो ।