सञ्चारविहीन कर्णालीका पाँच जिल्ला वर्षा र हिमपातले

डोल्पा, कर्णाली प्रदेशको जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पा जिल्ला सञ्चारविहीन भएका छन्। निरन्तरको हिमपात र वर्षाले उक्त जिल्लामा ल्याण्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो।

डोल्पा, कालीकोट र जुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको छ । त्यसैगरि हुम्ला र मुगुमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ। वर्षा र हिमपात कारण घाम नलागेर सोलार चार्ज नभएको साथै चिसोले जेनेरेटर पनि नचलेकाले सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ।

सोलार र जेनेरेटरले काम नगरेकै कारण जुम्ला र डोल्पा तथा जुम्ला र कालीकोट जिल्लाका सीमावर्ती क्षेत्रमा राखिएका रिपिटर टावरहरु बारम्बार अवरुद्ध हुने र सिंगो कर्णाली नै सञ्चारविहीन हुने गरेको छ। साविकका कर्णाली अञ्चलका पाँचवटा जिल्लामा एक महिनामै एक दर्जनभन्दा धेरैपटक टेलिफोन सेवा अवरुद्ध भएको छ।

कर्णालीमा उपलब्ध नेपाल टेलिकमको नमस्ते र स्काइ फोनको सेवा पटक–पटक अवरुद्ध हुने गरेपछि सर्वसाधारण बारम्बार सञ्चार सास्ती खेप्न बाध्य छन्। यस्तै, टेलिकमकै एडिएसएल इन्टरनेट ल्याण्डलाइन फोन पनि अवरुद्ध हुने गरेको छ।

डोल्पामा मात्रै पुष महिनाको सुरुवातदेखि हालसम्म २०० घण्टाभन्दा धेरै सयम फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। कर्णालीका जिल्लाहरुमा क्षणभरमै नेटवर्क आउने र जाने कुनै टुगों नहुने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । फोन सेवा एक वर्ष यतादेखि अवरुद्ध भइरहने गरेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय विष्णु थापाले गुनासो गरे।

‘डोल्पामा आज भोलि एक दिन नेटवर्क आउँछ, अर्को दिन जान्छ,’ उनले भने, ‘धेरैजसो समय सञ्चार बिहिन भएर बस्नुर्ने बाध्यता छ।’ भौगालिक रुपमा विकट भएकाले सबै ठाउँमा फोन र इन्टरनेट सेवा पु¥याउन विभिन्न जिल्लाका अग्ला डाँडाहरुमा राखिएको रिपिटर टावरमार्फत फोन तथा इन्टरनेट सेवा पुर्‍याइएको हो।

कर्णालीको डोल्पा, जुम्ला र कालीकोट गरेर तीन जिल्लामा फोन तथा इन्टरनेट सेवा बिस्तारका लागि कालीकोटको भर्ता लेखमा रिपिटर टावर राखिएको छ। टावर सञ्चालनका लागि राखिएका सोलार र जेनेरेटरले काम नगर्दा बारम्बार सञ्चार सेवा अवरुद्ध भइरहने नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक शिवराज खनालले बताए।

‘सौर्य ऊर्जा नियन्त्रण गर्ने उपकरण बिग्रेपछि डोल्पा, जुम्ला र कालीकोटमा सञ्चारसेवा अवरुद्ध भएको हो,’ उनले भने, ‘जेनेरेटर चलाएर भए पनि टावर सञ्चालन गर्न भनेको छु।’ त्यसैगरी मुगु र हुम्लामा फोन तथा इन्टरनेट सेवा बिस्तारका लागि दैलेख र कालीकोटको सिमानामा पर्ने महाबु लेकमा रिपिटर टावर राखिएको छ।

उक्त लेकमा भारी हिँउ परेकाले मर्मतका लागि सामानसहित पुगेको प्राविधिक टोली टावरसम्म पुग्न नसकेर टावर चौकीदारको घरमा बसेको खनालले बताए। उक्त टोली पुगेर रिपिटर टावर मर्मत गरेपछि मात्रै हुम्ला र मुगुमा फोन र इन्टरनेट सेवा सुचारु हुने उनको भनाइ छ।