मुगुमा दृष्टिविहीन बालबालिकालाइ न्यानो कपडा बितरण

मुगु ,चिसोको मौसमलाई मध्यनजर गरी मुगुका विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ।

छायानाथ रारा नगरपालिका-२ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय बालमन्दिरमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १३ जना र महाकाली नुमना माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका दृष्टिविहीन, सुस्त श्रवण भएका १८ विद्यार्थीलाई शनिबार न्यानो कपडा वितरण गरिएको हो।

हिमाली जिल्ला मुगुमा यो वर्ष मंसिर महिनाको २८ गतेबाटै हिउँ पर्न शुरु गरेपछि दृष्टिविहीन बालबालिका चिसोमा कठाङ्गरिँदै विद्यालयमा पढदै र बस्दै आएको देखेपछि न्यानो कपडा सहयोग गरिएको हिरिसडेक मुगुका अध्यक्ष मिनबहादुर रावलले बताए।

उनका अनुसार विद्यार्थीलाई चिसोमा सहजका लागि प्रत्येक विद्यार्थीलाई जकेट, टोपी, थर्मकोट, जुत्ता, मोजा, तन्ना र सिरकको खोल दिइएको बताए। विद्यार्थीलाई सरसफाई गर्न सहज होस भन्ने उद्देश्यले टावेल, सेनेटरी प्याड, साबुन मंचन, ब्रससमेत वितरण गरिएको छ।

चिसोबाट बच्नका लागि न्यानो कपडाहरु पाएपछि दृष्टिविहीन बालबालिकाको मुहारमा खुशी देखिएको थियो। छाया नेपाल नामक संस्थाको आर्थिक सहयोग तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिस्डेक) मुगुको सहजीकरणमा न्यानो कपडा वितरण गरिएको हो।