नेपालमा भित्रियो पार्टी बस,

काठमाडौं ,डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको बसमा यात्रा गर्नुभएको छ? छैन भने अनुभव लिन तयार हुनुहोस्।

यस्तै आले अन्तर्क्रियात्मक गतिविध समेटिएको पार्टी बस पहिलो पटक काठमाडौं भित्रिएको छ। भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिसलाई पार्टी गर्न मिल्ने थालेको रुपमा परिमार्जन गरिएको छ। यहाँभित्र सिट छैनन्। सोफा शैलीमा दुईतिर काउच राखिएको छ, जहाँ एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन्।

बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार छ। त्यससँगै अगाडि एकजना डिजे हुन्छन्। संगीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिने समाचार कान्तिपुर दैनिकमा छ। रियल इकोनोमिक सस्टिनेबल सोसाइटी नेपाल (रेस नेपाल)ले यो बस एक साताभित्रै व्यावसायिक रुपमा सञ्चालनमा ल्याउँदै छ।

पार्टी राइड, एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ। बस प्रयो गर्न चाहनेले प्रति तीन घण्टाको ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने रेस नेपालले जानकारी दिएको छ।