चुनावको बाचा पूरा गर्छौं-मन्त्री मगर

कञ्चनपुर- खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हुँदै जान थालेको बताएकी छन् ।

आज (शुक्रबार) कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्दै उनले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनका लागि सरकार प्रयत्नशील रहेको बताइन ।

सडक, स्वास्थ्य, शिक्षामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गरिने बताइन । ‘जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील छौं’, उनले भनिन्, ‘यसका लागि काम अगाडि बढाइएका छन् ।’

यसैबीच मन्त्री मगरले भीमदत्त नगरपालिका– ८ मा रु २८ करोडको लागतमा निर्माण हुने खानेपानी आयोजनाको शिलान्यास गरेकी छन् । सो अवसरमा उनले सबै नागरिकलाई शुद्ध पिउने पानी उपलव्ध गराउने सरकारको दायित्व भएको बताइन ।