प्रदेश ३ को बाग्मती र राजधानी हेटौंडा राख्ने संसदीय दलको निर्णय

हेटौंडा,प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने निश्चित भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले नाम र राजधानीका विषयमा निर्णय गरेसँगै अब प्रदेश तीनमा देखिएको विवाद समाधान भएको हो ।नेकपाको सचिवालय बैठकको निर्देशनअनुसार नै संसदीय दलले पनि नाम र राजधानीबारे निर्णय गरेको नेकपा प्रदेश ३ का संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए ।

उनले केही फरक मतहरु आएपनि तिनलाई सुरक्षित गरेर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय भएको जानकारी दिए ।प्रदेश सभाको बैठक आइतबार बस्ने सम्भावना रहेको छ । सोही बैठकमा प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव लैजाने तयारी गरेको छ ।

प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ । जसमध्ये ८० जना नेकपाका सांसद छन् । प्रदेशको नाम र राजधानी २ तिहाइले पारित गर्नुपर्छ ।यसअघि नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो ।