१९ लाख घुससहित सडक डिभिजनका प्रमुख सहित दुई इन्जिनियर पक्राउ

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १९ लाख रुपैयाँ घुससहित तीनजनालाई पक्राउ गरेको छ।सडक डिभिजन कार्यालय लहानका प्रमुखसहित अन्य २ इन्जिनियर १८ लाख ९६ हजार घुससहित शुक्रबार साँझ पक्राउ परेका हुन्।

अख्तियारको बर्दिबास कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार उनीहरु डिभिजन सडक प्रमुख विनोद साह, इन्जिनियर नवीनकुमार साह र सब-इन्जिनियर वीरेन्द्रकुमार साहलाई साँझ साढे ५ देखि ६ बजेको बीचमा घुससहित रंगेहात पक्राउ गरिएको हो।’तीनैजनालाई लहानस्थित सरकारी निवासबाट लिइसकेको घुससहित समातेका हौँ, सापकोटाले थाहाखबरसँग भने, ‘उनीहरुले सडक निर्माणका लागि आएको बजेटबाट कमिशनस्वरुप उक्त रकम लिएको खुलेको छ।’

अख्तियारको टोलीले डिभिजन सडक प्रमुख विनोद साहको साथबाट ३ लाख रुपैयाँ, इन्जिनियर नवीनकुमार र सब-इन्जिनियर वीरेन्द्रकुमार साहको कोठाबाट १५ लाख ९६ हजार रुपैयाँ घुस बरामद गरेको छ। सडक निर्माणका लागि आएको बजेटबाट कमिशनस्वरुप घुस लिँदा लिँदै पक्राउ परेका उनीहरुलाई शुक्रबार राति नै बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ल्याइएको सापकोटाले बताए।