मध्यरातमा अपहरित गाउँपालिका अध्यक्ष शाहीको अवस्था अज्ञात

श्रीमती भने सकुशल

दैलेख,अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको अबस्था अज्ञात भएपनि उनकी पत्नीलाई शकुसल छोडिएको छ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका भनिएका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही सकुुशल भेटिएकी हुन्।

वडा नम्बर १ का अध्यक्ष नर्तमबहादुर बुढाले अध्यक्षकी श्रीमती इला सकुशल आइतबार बिहान करिब नौ बजे भेटिएको जानकारी दिएका हुन्। गाउँपालिकाको उत्तरतर्फ पर्ने कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा उनी फेला परेकी खबर आएको वडाध्यक्ष बुढाले बताए।

अध्यक्ष शाहीलाई कालीकोटतर्फ लिएको अनुमान गरिएको छ। अध्यक्ष दम्पतीलाई किन अपहरण गरिएको भन्ने अहिलेसम्म नखुलेको वडाध्यक्ष बुढाले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले घटना जानकारीमा आएपनि कसले अपहरण गरेको भनी पुष्टि नभएको बताए । आइतबार बिहान सुरक्षा समितिको बैठक बसी अपहरितको खोजी तीब्र पारेको उनले जानकारी दिए।