नयाँ सभामुख चयनको तयारी, कस्को पोल्टामा जाला सभामुख ?

काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते (शुक्रबार)देखि शुरु हुने भएको छ ।

संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते (शुक्रबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनको प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

यद्यपि, संघीय संसदको हिउँदे अधिवेशन भने आज (शुक्रबार) बाटै प्रारम्भ हुँदै छ । हिउँदो अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

शुक्रबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

शक्ति सन्तुलन मिलाउने क्रममा दुई वर्षअघि सभामुख तत्कालीन माओवादीको भागमा पारिएको थियो । त्यसैले अहिले पनि सभामुख पद आफूहरूले नै पाउनुपर्ने पक्षमा पूर्वमाओवादी नेता छन् भने पूर्वएमालेहरू पार्टी एकीकरण भइसकेपछि पुरानो भागबन्डामा अल्झिन नहुने तर्क गरिरहेका छन् ।