कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो ।

बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार आजदेखि संसद शुरु हुने भएका कारण र नेताहरु जिल्ला बाहिर जाने कार्यक्रम रहेका कारण बैठक स्थगित भएको हो ।

गत बिहीवारबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बस्न सकिरहेको छैन ।

कांग्रेसमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने, भ्रातृ संगठन, विभाग लगायतमा नेता पौडल सिटौला पक्षधरको असन्तुष्टि रहँदै आएको छ ।

विवाद मिलाउन नेताहरू सक्रिय भएपनि समस्या समाधान भने हुन सकिरहेको छैन । महाधिवशेनको कार्यतालिका नआएसम्म बैठकमा सहभागी नहुने अडान नेता पौडेलले राख्दै आएका छन् । त्यस्तै पौडेल पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलका साथै विभागहरुमा पनि भागबण्डा खोजेपछि कांग्रेस भित्रको विवाद पेचिलो बनेको छ ।