पूर्वमा विप्लवलाई अर्को ठुलो धक्का, केन्द्रीय सदस्य दिपेश पक्राउ

उदयपुर,उदयपुरबाट नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेकपाका दुईजना नेता पक्राउ परेका छन्। जिल्लाको कटारी नगरपालिका–६ रिस्कु बाट विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भोजपुरको बेया निवासी दिपेश राई र उदयपुर जिल्ला ईन्चार्ज सुरेन्द्र थापा पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइएको छ। यसअघि पनि राईलाई बम बिष्फोट र थापालाई सार्वजानिक मुद्दामा पक्राउ गरेर छोडिएको थियो। दिपेश माओवादी जनयुद्धका समयका कुशल कमाण्डर मानिन्थे। उनले पूर्वी क्षेत्रका कयौँ युद्धमा भाग लिएका थिए।

माओवादी जनयुद्धका समयमा ब्रिगेडसम्मको जिम्मेवारी सम्हालिसकेका उनले पूर्वी पहाडी क्षेत्रमा विप्लव समूहको नेतृत्व गरिरहेका थिए। सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका नेता कार्यकर्तामाथि प्रहरीले निरन्तर धरपकड जारी राखेको छ। विप्लवका करिब ६ सय भन्दा धेरै नेता कार्यकर्ता एक वर्षबीचमा देशभरबाट पक्राउ परिसकेका छन्।