नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक शुरु भएको हो । बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित छैनन् ।गत शुक्रवार अस्पतालबाट डिस्चार्ज भएपछि उनी बालुवाटारमा आराम गरिरहेका छन् । उनीसँग प्रचण्डले हिजो बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।

जारी बैठकमा समसामयिक राजनीतिक विषय तथा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने कार्यतालिका रहेको छ ।सचिवालयकै निर्देशन अनुरुप आइतबार उपचुनावको समीक्षात्मक रिपोर्ट पार्टी मुख्यालय पुर्‍याइएको थियो ।

मंसिर १८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’को अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्देशन अनुसार मंसिर १४ गते उपचुनाव भएका ५२ स्थानकै रिपोर्ट आइतबार पार्टी मुख्यालय पुर्‍याइएको हो । उपचुनाव भएका ३७ जिल्लाका ५२ स्थानकै रिपोर्ट नेकपा पार्टी कार्यालयमा आइसकेको छ।

समीक्षा रिपोर्टमा कतिपय नसोचेको स्थानमा नेकपाले जितेको तथा गढ मानिएकै ठाउँमा नेकपाले पराजय भोगेको विषयलाइ समेटिएको छ । नेकपा नेतृत्वले भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिकाको मेयर पदको चुनावको पराजयलाई ठूलो असफलताको रुपमा लिएको छ।

दुई ठाउँ चुनावमा पराजय भोगेपछि सचिवालय बैठकले दिएको निर्देशन बमोजिम सबै रिपोर्ट केन्द्रमा आइसकेपछि सोमबार नेकपा सचिवालय बैठक बोलाइएको हो।