नेपाल बंगलादेशसँग ४४ रनले पराजित

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । यो हारसँगै नेपालको स्वर्ण सपना सकिएको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशको यू( २३ टिमसंग ४४ रनले पराजित भएसंगै नेपालको स्वर्ण सपना सकिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । खराब सुरुवात गरेको नेपालले १४ रनमा ३ विकेट गुमाएको थियो ।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बंगलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान २र२ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेश यू(२३ ले ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

खराब सुरुवात गरेको बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेपछी बंगलादेश लयमा फर्किएको थियो ।

उसका नाजमुल होसेन सान्तो र आफिफ होसेनले अर्धशतकीय पाली खेले । ६० बलको सामना गरेका सान्तोले ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ७५ रन बनाए । यस्तै आफिफ होसेनले ५२ रन बनाए ।

चार खेलमा दुई जित र दुई हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । नेपालले ४ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो । यस्तै शुक्रबार माल्दिभ्सलाई सहजै पराजित गरेको थियो ।

बंगलादेश यू(२३ ले ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै श्रीलंका यू(२३ समेत ३ खेलमा ६ अंकका साथ् तालिकाको दोस्रो स्थानमा छ । श्रीलंका र बंगलादेश एक खेल अगावै फाइनल प्रवेस गरेका छन् । अब नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्ने छ ।