४२ किलोमिट म्याराथनमा किरणसिंह बोगटीले दिलाए नेपाललाई स्वर्ण

बैकुण्ठ मानन्धरको रेकर्ड यथावत

काठमाडौं, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण दिलाएका छन्। शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १६ सकेन्डमा पूरा गर्दै स्वर्ण सुनिश्चित गरे।

भारतका रस्पाल सिहंले २ घण्टा २१ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत जिते। भारतकै श्री सिंहले कास्य जितेका छन्। उनले निर्धारित दूरी २ घण्टा २२ मिनेट ०६ सेकेन्डमा पूरा गरे।

नेपालका होमलाल श्रेष्ठ चौथो भए। उनले निर्धारित दूरी २ घण्टा २४ मिनेट ३० सेकेन्डमा पूरा गरे। दौडमा नेपालका दुई, भारतका दुई गरी आठ प्रतिस्पर्धी थिए।

योसँगै नेपालले जारी सागमा स्वर्ण संख्या ४२ पुर्याएको छ। शुक्रबार नेपालले ५ स्वर्ण थपेको थियो।

बैकुण्ठको रेकर्ड यथावत

यसपटक पनि कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको रेकर्ड तोडिएन। साग इतिहासमा म्याराथनको रेकर्ड नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको नाममा छ।

उनले १९८७ मा भारतमा भएको सागमा निर्धारित ४२ किलोमिटर दूरी २ घण्टा १५ मिनेट ३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान कायम गरेका थिए। अहिलेसम्म सो रेकर्ड कुनै धावकले तोड्न सकेका छैनन्।

बैकुण्ठले आफ्नो रेकर्ड नेपाली धावकबाटै तोडेको हेर्न चाहेको बताउँदै आएका छन्।