साग पुरुष भलिबल : बंगलादेशसँग नेपाल पराजित

काठमाडौं ,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। घरेलु मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो। नेपालले पहिलो सेट २५–२१ ले जितेको थियो।

तर, नेपालले दोस्रो सेट २५–२३ ले हार्न पुग्यो। तेस्रो सेट २५–१९ को जित निकाल्दै २–१ को अग्रता बनाएको थियो। तर, चौंथो सेटमा बंगलादेशले २६–२५ को जित निकालेपछि खेल २–२ सेटको स्थितिमा पुगेको थियो। त्यसपछि खेलको अन्तिम तथा निर्णायक सेटमा १५–१२ ले जित्दै बंगलादेशले नेपाललाई ३–२ को सेटमा स्तब्ध बनायो।

नेपालले समूह चरणको अन्तिम खेल भारतसँग शुक्रबार खेल्नेछ। सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब समेत थपिएको छ। महिला भलिबलमा भने नेपालले विजयी सुरुवात गरेको छ। नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० सोझो सेटमा हराएको थियो।