यस्तो छ लिम्पियाधुरादेखि लिपुलेक समावेश गरेर तयार पारिएको नेपालको नयाँ नक्सा

काठमाडौं, नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।
नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्रा। डा। नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रेखाङ्कन गरिएको बताए । उनले भने, “डिजिटल एलिभेसन मोडेलबाट रेखाङ्कन गरेका हौं ।”
यही विधिबाट रेखाङ्कन गरिएको जानकारीसमेत दिए । नक्शा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको बताए ।

सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए । उनले नक्सा तयार पारिएको विधिसमेत उल्लेख गरे ।

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए । उनले भने, “हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्सा सुगौली सन्धिअनुसारको भएको हो ।”
भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाइ थियो ।

नापी विभागका पूर्वमहानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले कालीनदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । उनले भने,“हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ ।”
पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएकोमा खुसी व्यक्त गरे ।

पूर्वसचिव तथा अभियानकर्ता डा। द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए । बाह्रखरी