कसले गर्यो आश्रयस्थलबाटै ९ बालबालिकालाई गायब ?

ललितपुर, गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कार लगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ । प्रसूतिमा रेखदेख गर्छ । त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ ।

तर, ती शिशु बढ्ने क्रमसँगसँगै त्यहाँबाट गायब हुन्छन् । कहाँ लगिइन्छन् त ती ? हराएका तिनै ९ बालबालिकाबारे सरकारले ३ महिना देखि अनुसन्धान गरिरहेको छ।

यसबारे सम्बन्धित महिलाको आफन्तले उजुरी गरेका थिए । रकममा किनबेच गरेको सिकायत पछि गृहमन्त्रालयले छानबिन गराएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वमा खटेको प्रहरीसहितको टोलीले कात्तिक २० गते प्रतिवेदन बुझाएको थियो।  त्यसलाई गृहमन्त्रालयमा पठाएको जिल्ला प्रशासनले जनाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा नीतु घलेले लेखेका छन।