भालुको पित्त ओसारपसारमा संलग्न महिला पक्राउ

काठमाडौं, भालुको पित्त ओसारपसार संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।

प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुबाट ३४ वर्षीया मित्रलक्ष्मी राईलाई पक्राउ गरेको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि चाडपर्वको अवसर पारेर घरमा आएर लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौँमा मुद्दा दर्ता भएर ७ कात्तिकमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि महिला फरार रहेको भोजपुर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक पाण्डवकुमार वंशीले बताए ।

प्रहरीले थप अनुसन्धान र कारवाहीका लागि महिलालाई डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा बुझाएको जनाएको छ ।