महराको थुनछेक बहस – बारका पूर्वअध्यक्षसहित ३० वकिलले बहस गर्दै

काठमाडौं, संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको आज थुनछेक बहस हुँदैछ ।

शुक्रवार अदालती बयान सकिएपनि समय अभावका कारण थुनछेक बहस शुरु हुन सकेको थिएन ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार अभियोग पत्र दायर गरेकोमा शुक्रबार बिहानदेखि महराको अदालती बयान शुरु गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलाशमा महराको बयान लिइए थियो । पाँच घन्टा भन्दा धेरै समय महरा लगायतको वयान भएको थियो । महराले अदालतमा इन्कारी बयान दिएका थिए ।

प्रहरीको झण्डै १ महिने अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योगको अभियोगमा मुद्दा दायर गरेको थियो । महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।

सरकारी वकिलले महराविरुद्ध जबरजस्ती करणी उद्योगमा अधिकत्तम ५ वर्ष र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा थप २ वर्ष ६ महिना गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गरेको छ ।

महराको पक्षमा बारका पूर्वअध्यक्षसहित ३० वकिलले बहस गर्ने

निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा ३० जना भन्दा धेरै वकिलहरुले महराको पक्षमा बहसका लागि वकालतनामा पेश गरेका छन्।

महराको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्व न्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरू लव मैनाली, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बरालले बहस गर्दैछन्। त्यसैगरि अधिवक्ताहरू मुरारी सापकोटा र चन्द्र गुरागाइँसहितका कानुन व्यवसायीले थुनछेक बहस गर्ने भएका हुन्।

थुनछेकमा वादी र प्रतिवादीका तर्फबाट कानून व्यवसायीले बहस गर्नेछन् । बहस सकिएपछि अदालतले महरालाई थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने बारेको आदेश गर्ने छ ।