पर्यटकको पर्खाइमा पातालभूमेश्वर गुफा

बैतडी, नेपालकै लामो दाबी गरिएको बैतडीको पातालभूमेश्वर गुफा पर्यटकको पर्खाइमा रहेको छ । सुर्नया गाउँपालिकामा रहेको यो गुफाको प्रचारप्रसारका लागि गाउँपालिकाले बजेट विनियोजित गरेर गुरुयोजना बनाउन सुरु गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पाँच घण्टामा गाडीको यात्रापछि यो गुफानजिक पुग्न सकिन्छ । दशरथचन्द मार्गको बैतडीको सिउँडेबाट १५ मिनेटको दूरीमा पातालभूमेश्वर गुफा रहेको छ ।

गुफासंँगै सधैँ स्थिर रहिरहने सुन्दर तलाउ र घना जङ्गलले गुफाको आकर्षण बढाएको छ । तलाउको गहिराइका विषयमा समेत अध्ययन हुनुपर्ने र स्थानीय तहको सरकारले तलाउको संरक्षण गर्नुपर्ने नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष नरेन्द्र भट्टले बताए ।

द्वापर युगमा पाण्डवहरू पातालभूमेश्वर गुफा भएर पाताल गएको र शिव पार्वतीले हनिमुन मनाएको विश्वास गरिँदै आएको छ । पाताल गुफा र तलाउको बीचमा स्थानीयले मन्दिर निर्माण गरी शिव पार्वतीले हनिमुन मनाएकाले यहाँ विवाहको मौसममा कयौँ जोडीले विवाहसमेत गर्ने गरेका छन् ।

शिवरात्रिमा यहाँ मेलासमेत लाग्ने गर्दछ । पाताल गुफा गाडीबाट ओर्लेर १५ मिनेट पैदल हिँडेपछि सुन्दर तलाउ, गुफा र यहाँबाट देखिने अपी सैपाल र कैलाश मानशरोवरसम्मको दृश्य अवलोकन गरी आनन्द लिन सकिन्छ ।  आन्तरिक र बाह्य पर्यटकीय दृष्टिले निकै महìवपूर्ण रहेको गुफाको प्रचारप्रसार र संरक्षण गरेर नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नुपर्ने सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले बताइन् ।

भ्रमण वर्ष २०२० सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री संरक्षक र पर्यटनमन्त्री अध्यक्ष रहने गरी ३६ सदस्यीय पर्यटन प्रवद्र्धन समिति समेत गठन भएको पर्यटनमन्त्री भट्टले बताइन् ।

अन्तर्राष्ट्रिय गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोली तीन वर्षअघि मात्रै गुफाको झण्डै ८६० मिटरसम्म पुगेपछि गुफाको विषयमा चर्चा हुन थालेको हो । गुफा विशेषज्ञ दुसेन इन्टरनेसनल सेन्टर फर द एक्सप्लोरेसन अफ द हिमालयजका अध्यक्षसमेत हुन् । गुफा अझै लामो र गहिरो हुन सक्ने र सुरक्षाका हिसाबले टोली अघि बढ्न नसकेपछि ८६० मिटरसम्म पुगेर फिर्ता भएको थियो ।

प्रारम्भिक अध्ययनअनुसार गुफाको लम्बाइ र गहिराइ अझै बढी हुन सक्ने बताइएको छ । यसअघि नेपालको सबैभन्दा लामो गुफा मानिएको तनहुको सिद्ध गुफा ६५ मिटर लामो छ । गुफा विशेषज्ञ दुसेनका गाइड तथा उहाँसँंगै दर्जनौँ गुफा प्रवेश गरेपछि बैतडीको पतालभूमेश्वर गुफा नेपालकै उत्कृष्ट गुफा भएको टोलीले दाबी गरेको थियो ।

नेपाल र विदेशका गरी एक हजार दुई सयभन्दा बढी साना–ठूला गुफाको अवलोकन तथा अध्ययन गरिसकेका दुसेनको टोली तीन वर्षअघि गुफाभित्र पसेर अध्ययन गरेको थियो ।