यसकारण बालुवाटारमा ओली र प्रचण्ड बिच ‘वान टु वान’ वार्ता

काठमाडौं, प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि प्रचण्डलाई बालुवाटार बोलाएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पार्टी एकीकरण र आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने सम्बन्धमा भएको भद्र समझदारीको विषयलाई लिएर दूरी बढेको समाचार सार्वजनिक भइरहेका थिए ।

यद्यपि, अजरबैजानको बाकुबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुबीच कुनै पनि प्रकारको दूरी नरहेको बताएका थिए ।

आइतबार नै भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारका कामप्रति भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चीर्ने अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

सोमबार बिहान भएको भेटमा दुई नेताबीच पार्टी एकीकरण प्रक्रियाका बाँकी काम, आसन्न उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । ओली र प्रचण्डबीच एक्लाएक्लै ‘वान टु वान’ बार्ता भएको जनाइएको छ ।