हिरासतमै जुवाडेहरुको तिहार, तिहारअघि नछुट्ने संभावना

काठमाडौँ,शनिवार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेको तिहार हिरासतमै हुने भएको छ । उनीहरुलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपनि तिहार बिदामा समयअभावका कारण बन्दी प्रत्यक्षीकरणको कार्वाही प्रक्रिया पछि सरेपछि उनीहरु प्रहरी हिरासतमै रहने भएका हुन् ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि सोमबार बिहान ११ देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको थियो। तिहारको चाड परेको भनेर एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रेखाले आइतबार अपरान्ह ३ बजे सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरी छुटाउन आग्रह गरेलगत्तै सर्वोच्चले उनीहरुलाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जका नाममा आदेश जारी गरेको थियो।

त्यसपछि २४ घण्टाभित्रै उनीहरुलाई प्रहरीले सोमबार कार्यालय समयमै उपस्थित गराएको थियो । तर, सर्वोच्चले ११ देखि ३ बजेसम्म मात्रै कारवाही चलाउने भन्दै उनीहरुलाई फर्काइदिएको छ । अब भाइटीकाको भोलिपल्ट (बुधबार) मात्र उनीहरुको विषयमा पक्राउ र थुना गैरकानुनी हो कि होइन भनेर बहस हुनेछ र गैरकानुनी देखिए थुनामुक्त हुनेछन् ।

शनिवार राती पक्राउ परेका जुवाडेहरु रङ्गेहात पक्राउ परेका थिए भने उनीहरुको साथबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेकसमेत बरामद भएको थियो । त्यसबाहेक प्रहरीले पक्राउ गर्दाको समयमा फोटो र भिडियोसमेत खिचेको छ ।