नेशनल मेडिकल कलेजद्धारा सय विद्यार्थीलाई दिनभर बन्धक बनाएर कुटपिट

काठमाडौं, वीरगञ्जका नेशनल मेडिकल कलेज प्रशासनले सयजना विद्यार्थीलाई दिनभर बन्धक बनाएको छ ।

कलेजले सरकारले तोकेभन्दा बढी शुल्क माग गरेपछि विरोधमा उत्रिएका १८ औं ब्याजका सयभन्दा बढी विद्यार्थीलाई मेडिकल कलेज सञ्चालक बसुरुद्दिन अन्सारीले बन्धक बनाएर दिनभर कुटपिट गरेको त्यहाँ अध्ययनरत विद्यार्थीले आरोप लगाएका छन् ।

बाह्रखरीसँग सम्पर्कमा आएका एक विद्यार्थीले बढी शुल्क किन तिर्नु भन्दा बसरुद्दिनले दिनभर बन्धक बनाएर कुटपिट गरेको बताए ।

नाम बताउँदा ज्यानै जाने भयमा रहेका ती विद्यार्थीले बाह्रखरीसँग दुखेसो पोखे, “हिजो आइतबार हामी सयजना विद्यार्थी धर्नाको तयारी गर्दैथियौं । धर्नाका लागि गेट बाहिर निक्लन खोज्दैथियौं । गेटमा सिनियर दाइहरू रहेछन् । उनीहरूले भने– यहाँ के भइरहेको छ । आन्दोलन गर्ने ठाउँ हो ? त्यसपछि हामीहरूले सरकारले तोेकेको भन्दा १३ लाख बढी शुल्क उठाएको छ । तिर्न नसक्ने भयौं । प्रशासनले सुनेन । धर्ना बसे सुनुवाइ हुन्छ कि के भनेका थियौं । उनीहरूले बढ्ता कुरा नगर । यो आन्दोलन गर्ने ठाउँ होइन भनेर बाहिरै निस्कन दिएनन् ।”

उनले अगाडि भने, “त्यसपछि कलेज सञ्चालक बसरुद्दिन आइपुग्नुभयो । उहाँले अहिले आन्दोलन गर्नुपर्दैन । सरकारबाट पत्र आएको छ भन्दै हामीलाई गेटबाहिर निस्कन दिनुभएन । भित्रै बन्धक बन्यौं । बेलुका सिनियर दाइहरू आएर उसैगरी धम्क्याए । हामी त त्रासमा छौं । के हुने हो कसो हुने हो ?”

उनले आन्दोलनका कारण पढ्न बाधा पुग्यो भनेर जिल्ला प्रशासनका उजुरी हालिएको बताए ।

“बुधबार धर्ना, आन्दोलन गरेको भन्दै त्यहीदिन बेलुका होस्टलमा हामीलाई कुटियो । त्यसदिनदेखि विद्यार्थी त्रासमा छन्,” उनको भनाइ छ ।

चिकित्सा सुधारकी अभियन्ता मान्यताले पनि नेशनल कलेजमा विद्यार्थीमाथि दमन भइरहेको बताइन् ।

“त्यहाँ बिल काटेरै सरकाले तोेकेभन्दा १३ लाख रुपैयाँसम्म बढी अशुलिएको छ । सरकारले ४२ लाख ५० हजार शुल्क तोकेको छ । नेशनल मेडिकल कलेजले १५ लाख रुपैयाँ बिल काटेरै उठाएको छ । विद्यार्थीले विरोध गर्दा हाम्रै आँखा अगाडि कुटिए,” मान्यता भन्छिन्, “अहिले पनि ठूलो त्रासमा विद्यार्थी छन् ।”

गत बुधबार मान्यतासहितको चिकित्सा शिक्षा सङ्घर्ष समिति एनएमसी पुगेको थियो । अतिरिक्त शुल्कको विरोध गर्दै धर्नामा बसेका विद्यार्थीमाथि कलेज सञ्चालक बसरुद्दिनले धरपकड गरेको उनको भनाइ छ । baahrakhari