प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला

चितवन, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले चितवनमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने बताए ।

प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उनले त्यो स्वतन्त्रतामा नै रहनुपर्छ भने । अहिलेको सरकारले प्रेसलाई संकुचित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले त्यसको आफू र आफ्नो पार्टीले निन्दा गर्ने बताए । उनले भने, “नेपाली कांग्रेसले जहिले पनि प्रेस स्वतन्त्रतालाई मुख्य उद्देश्यमा नै राख्ने गरेको छ ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले मुलुकको समृद्धि प्रेस स्वतन्त्रताबिना सम्भव नरहेको बताए । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।