राति १० बजेपछि देउसी/भैलो खेल्न रोक

शान्तिसुरक्षामा खलल पुर्‍याए कारबाही गरिने

काठमाडौँ, सरकारले राति १० बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । देशभरका स्थानीय प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएका हुन् ।

स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्‍याएको अभियोगमा कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । देउसी/भैलोलगायतका कार्यक्रममा अरुलाई नकारात्मक असर पुग्नेगरी कुनैपनि गतिविधि नगर्नसमेत स्थानीय प्रशासनले सचेत गराएको छ ।

सार्वजनिक आवागमनलाई अवरोध पुग्नेगरी समेत कुनैपनि कार्यक्रम नगर्न स्थानीय प्रशासन कार्यालयहरुले कार्यक्रम आयोजकलाई निर्देशन दिएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातको समयमा देउसी/भैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न नपाइने गरी जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको जानकारी दिए ।

‘सार्वजनिक शान्ति सुव्यवस्थालाई खलल पुग्ने गरी चाडपर्व लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि नगर्न जिल्ला सुरक्षा समिति काठमाडौंले निर्णय गरेको छ,’ प्रजिअ दाहालले भने, ‘सांस्कृतिक पर्वलाई व्यवस्थित र अनुशासित बनाउनका लागि राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैलो तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न भनेका हौं ।

प्रशासनको निर्णय अटेर गरिए कार्यक्रम आयोजना गर्नेलाई नियन्त्रणमा लिएर शान्तिसुरक्षामा खलल पुर्‍याएको आरोपमा कारबाही गरिने उनले चेतावनी दिए ।