म अब ओरिजिनल माओवादी होइन : प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु अब ओरिजिनल माओवादी नभएको बताएका छन् । शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन (जसलाई चौम पनि भनिन्छ) मा गएको बताए ।

मदन भण्डारी (जो पुष्पलाल समूहबाट कोअर्डिनेशन केन्द्रमा गएका थिए) सँग तुलना गर्दै प्रचण्डले कार्यक्रममा भने, ‘म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।’ उनले आफू ओरिजिनल चौम ,मसाल र माओवादी नभएको बताए ।

उनले झापा विद्रोह कोअर्डिनेशन केन्द्रको लिगेसी बोकेकाहरूबाट भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको पनि स्मरण गरे ।

‘त्यतिबेलाको मालेले मदन भण्डारीको क्षमता, गतिशीलता, सिर्जनशीतलाई आत्मसात गर्यो, मालेका ओरिजिनल भनिएकाहरूको हालत के छ तपाईं हामी सबैलाई थाहा छ’ उनले भने,‘तपाईंहरूलाई ओरिजिनल मसाल, माओवादी नै लाग्ला, म पनि ओरिजिनल माओवादीचाहिँ होइन ।’