पारस खड्का टी–१० लिगमा आबद्ध, ११ लाख रुपैयाँ पारिश्रमिक

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले सिजनको टी–१० लिग खेल्ने भएका छन्।

पारस टिम अबुधावीमा आबद्ध भएका हुन्। उनले १० हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) पारिश्रमिक पाउने छन्।

पारस आबद्ध टिमको आइकोनिक खेलाडीमा इंग्ल्यान्डका अलराउन्डर मोइन अली छन्। यस्तै पाकिस्तानका तीव्र गतिका बलर मोहमद अमीर, न्युजिल्यान्डका कोरी एन्‍डरसन, श्रीलंकाका निरोशन डिकवेला, युएईका रोहान मुस्ताफा लगायतका खेलाडी छन्।

यसअघि नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने कर्नाटकामा आबद्ध भएका थिए। सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए। गत सिजन केरलामा ३० हजार अमेरिकी डलरमा आबद्ध भएका उनी यस सिजन कर्नाटकामा ४५ हजार डलरमा आबद्ध भएका थिए।

प्रतियोगिता युएई अबुधावीको शेख जायद क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म हुनेछ। १० ओभरको हुने खेल ९० मिनेट भित्रमा सकिनेछ। लिगमा कर्नाटका, टिम अबुधावी, मारथा अरबीयन्स, बेंग्ला टाइगर्स, डेकन ग्लाडिएटर्स, क्वालन्दर्स, दिल्ली बुल्स र नर्दन वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।