उजुरी गर्दैनौं,राजनितिक हिसाबले प्रतिवाद गछौं – नेता आचार्य

सत्तारुढ नेकपाका युवा नेता तथा केन्द्रिय सदस्य निरज आचार्यले विप्लव नेकपाका कार्यकर्ताको नाममा किटानी जाहेरी नगरेर बैचारिक तथा भौतिक प्रतिवाद गर्ने बताएका छन् । बिहिबार जिल्ला सदरमुकाम खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता आचार्यले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीको जिल्ला कमिटीले तय गरेको कार्यक्रमको लागि बारेकोट गाउँपालिकामा जादै गर्दा बुधबार बीचबाटोमा आफुहरुलाई आक्रमण गर्ने विप्लव नेकपाका कार्यकर्ताहरुको राजनैतिक व्यवहार नभएर अपराधिक कृयाकलाप भएको नेता आचार्यले बताए । नेपालको संविधानले राजनैतिक पार्टी खोल्ने, दल दर्ता गर्ने र विचार सहितको कुनै पनि राजनैतिक कार्यक्रमहरु संचालन गर्न पाउने छुट दिएको बताउदै नेता आचार्यले अपराधिक कृयाकलापलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताए ।

लामो राजनैतिक संघर्षले जन्म दिएका नेत्र विक्रम चन्द विप्लव आफुले आदर्श नेताको रुपमा मान्दै आएको भएता पनि विप्लवको नाममा आज गैरराजनैतिक कार्यहरु भैरहेको नेता आचार्यले बताए । विप्लव नेतृत्वको नेकपाका राजनैतिक गतिविधिहरुमा सरकारले प्रतिवन्ध लगाउन नहुने भन्ने विचार राख्ने सत्तारुढ नेकपाको एक नेता आफु भएको आचार्यले दावी गरे ।

विप्लव नेतृत्वको नेकपाका राजनैतिक गतिविधिहरुमा सरकारले प्रतिबन्ध लगाएको नभएर गाउँ–गाउँमा चन्दा माग्ने, सर्वसाधारणलाई धम्काउने, कुटपिट गर्ने, हतियार देखाउने कृयाकलापमा प्रतिबन्ध लगाएको आचार्यले जिक्किर गरे । कम्युनिष्ट संघर्षबाट खारिएका नेता विप्लवको नाम लिएर देशव्यापी रुपमा भैरहेका गैर राजनैतिक कृयाकलापले विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी सहि ठाउँमा नपुग्ने तर्क नेता आचार्यले गरे । अहिलेको व्यवस्थाले जनताको अबस्थालाई परिवर्तन गर्न सक्दैन भन्ने मान्यता राख्दै आउनु भएका नेता विप्लवलाई म पत्रकार साथिहरु मार्फत बिचार सहितको राजनैतिक संस्कारको विकास गर्न सिक्नु होस भन्न चाहान्छु नेता आचार्यले भने–‘पार्टीको बारेकोट गाउँपालिकामा आयोजित सपथग्रहरण कार्यक्रममा जादै गर्दा बारेकोट–८ लैखम रापानी स्थित भीरमा हामीलाई आक्रमण गर्नेहरु प्रति हामी किटानी जाहेरी त गर्दैनौंं तर, हामी विचार, राजनैति सहित हाम्रा कार्यकर्ता मार्फत भौतिक रुपमा प्रतिवाद गर्न भने छोड्ने छैनौ ।

राजनैतिक संस्कार नै सिक्न नसक्ने अयोग्य सयौं कार्यकर्ताहरुको भीडमा गरिने राजनीतिले विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई पार लगाउन नसक्ने सत्तारुढ नेकपा कर्णाली प्रदेश सदस्य डम्मरबहादुर सिंहले बताए । विचार सहितको राजनीतिलाई जनताको बिचमा स्थापित गर्नका लागि सक्षम तथा कुशल कार्यकर्ताको आबश्यकता पर्ने बताउदै प्रदेश सदस्य सिंहले विप्लवले भन्ने गरे जस्तै भोलि विप्लव नेतृत्वको नेकपाको सत्ता र सरकार आएपनि आफुहरु माथि आक्रमण गर्ने विप्लवका कार्यकर्ताहरु अयोग्य हुने जिक्किर गरेका थिए ।

पार्टीले तय गरेको राजनैतिक कार्यक्रममा जादै गरेका पार्टीका नेताहरुलाई आक्रमण गर्ने, राजनैतिक कार्यक्रममा अबरोध गर्ने कृयाकलापको जति घोर भत्सर्ना गरेपनि कमै हुने बताउदै नेकपा, जाजरकोटका अध्यक्ष ढकवीर रानाले राजनैतिक संस्कार सहित विचारको राजनीति गर्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेका थिए ।

उत्ता विप्लव नेकपा, जाजरकोटका ईन्चार्ज प्रेमप्रकाश वली (धमिल) ले पार्टीको नीति तथा कार्यक्रम अनुसार नेकपाका नेता आचार्य र सिंहमा आफ्नो पार्टीको युवा संगठनले आक्रमण गरेको स्वीकार गरेका छन् । अहिलेको सरकारको नेतृत्व पुर्व नेकपा एमालेले गरेको बताउदै ईन्चार्ज वलीले सरकाले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने, देश व्यापी रुपमा पार्टीका नेता, कार्यकर्ताहरुको धरपकड गर्नुको साथै झुट्टा मुद्धा लगारु बन्दी बनाउने सरकारका कदम प्रति आफ्नो पार्टीले पनि देश व्यापी रुपमा प्रतिवाद गरिरहेको बताए । ईन्चार्ज वलीले पुर्व एमाले सम्वद्ध नेताहरुलाई गाउँ प्रवेशमा आफ्नो पार्टीले निषेध गरेको बताएका छन् ।