महरालाई थप सात दिन हिरासतमा राख्‍न माग

डिएनए रिपोर्ट र अझै कल डिटेल हेर्न बाँकी

काठमाडौं,संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। महरलाई म्याद थपका लागि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा पेश गरिएको छ।

प्रहरी परिसरले जिल्ला सरकारी वकिलमार्फत् महरालाई थप सात दिन हिरासतमै राख्न माग गरेको छ । प्रहरीले अनुसन्धानका दुइटा पाटा मोबाइल फोन कल डिटेल तथा आरोपित र पीडित भनिएका दुवैजनाको डिएनएको रिपोर्ट आइनसकेकाले थप सात दिन म्याद थपका लागि माग गरेको हो। महरासँग यसअघि नै जिल्ला सरकारी वकिलकहाँ ७ घण्टा लामो बयान लिइएको छ। यदि आज म्याद थपिएमा महरा कात्तिक १३ गतेसम्म हिरासतमै रहनेछन्।

तर महराको पक्षबाट वकलात गरिरहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बोलाएको बेला उपस्थित गराउने शर्तमा महरालाई जमानतमा रिहा गर्न माग गरेका छन्। ‘उहाँलाई म बोलाएको बेला उपस्थित गराउन तयार छु’, उनले भनेका थिए, ‘त्यसको ग्यारेन्टी गर्न तयार छु, जमानतमा रिहा गरियोस्।’