पूर्वसांसद साहले बिकलांग बच्चा घर लगिन्, अस्पतालविरुद्ध १० करोडको मुद्दा

काठमाडौं, उच्च अदालत पाटनको आदेशपछि भैसेपाटीमा रहेको मेडिसीटि अस्पतालबाट पूर्वसांसद गायत्री साहले आफ्नो बच्चा घर लगेकी छन् । तर अस्पतालको लापरपाहीका कारण बिकलांग बच्चाको जन्म भएको र जीवनभर खर्च गर्नुपर्ने अवस्थामा पुर्याएको भन्दै अस्पतालविरुद्ध १० करोड क्षतिपूर्तिको मागसहितको मुद्दा जिल्ला अदालत ललितपुरमा हालेकी छन् ।

मुद्दा प्रक्रियामा गइसकेको छ । पेशीमा चढ्न बाँकी रहेको अदालतले जनाएको छ । २८ असोजमा मुद्दा दायर गरेकी उनले अस्पतालविरुद्ध उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ५० बमोजिम क्षतिपूर्ति माग गरेकी छन् । डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएपछि साहले अस्पतालको गलत काम भएको भन्दै बच्चा जिम्मा लिन मानेकी थिइनन् । गएको फागुनमा उक्त अस्पतालमा साहले बच्चालाई जन्म दिएकी थिइन् । बच्चा घर नलगेपछि अस्पतालल्े उच्च अदालत पाटनमा मुद्दा हालेको थियो ।

गर्भवती भएका बेला आफूलाई बच्चाको अवस्था सामान्य रहेको रिपोर्ट दिएर अस्पतालले ठगेको उनको दाबी छ । उनले अस्पताल र डाक्टरको लापरवाहीले त्यस्तो सन्तान जन्मिएको बताउँदै आएकी छन् ।