आलम प्रकरण : रातारात सरुवा गरिएका प्रहरी निरिक्षकको बयान

काठमाडौं, दर्जनौ मानिसको हत्या र प्रमाण समेत नष्ट गर्ने काम भएको रौतहटको राजपुर–फरहदवा वम विष्फोटका विषयमा बयान लिन त्यहाँका तत्कालिन सुरक्षा इञ्चार्ज प्रहरी निरिक्षक इन्द्र सुवेदीलाई बयानका लागि डाकिएको छ ।

नेपाली कांग्रेसका सांसद तथा तत्कालिन मन्त्री मोहम्मद अफताव आलमको योजनामा घटना भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा राखी बयान लिने काम जारी राखेको छ । सोही बेलाको अवस्थालगायतका विषयमा बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी निरिक्षक सुवेदीलाई पत्र काटी बोलाएको हो ।

घटना दबाउनका लागि तत्कालिन प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेले सुवेदीको रातारात सरुवा गरेको विषय सतहमा आएको छ । २७ चैत ०६४मा राती १० बजेसम्म काममा रहेका प्रहरी निरिक्षकलाई ११ बजे राती नै सरुवा गरिएको विषय चर्चामा रहेको थियो ।

सुवेदी पहिलो संविधान सभा निर्वाचनको अघिल्लो साँझ इलाका प्रहरी कार्यालय राजपुरमा खटाइएका थिए । सुवेदी अहिले डिएसपी छन् । १२ बर्ष अघि चुनाव प्रभावित बनाउन आलमको निर्देशनमा भारतबाट समेत आएका केही श्रमिकलगायतलाई बम बनाउन लगाउँदा विस्फोट हुँदा केहीको मृत्यु भएको र घाइतेलाई इटाभट्टामा लगी जिउँदै जलाएको भन्ने आरोप लागेको छ ।