तिब्बत भ्रमण सोचे भन्दा उपलब्धिमुलक – मुख्यमन्त्री शाही

सुर्खेतको रिङरोड र सुरुङ मार्ग निःशुल्क सर्वे

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही १० दिने चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण सोचे भन्दा उपलब्धीपुर्ण रहेको बताएका छन । आज नेपाल फर्किए लगतै विमानस्थलमा पत्रकार भेटघाट गर्दै  मुख्यमन्त्री शाहीले भ्रमण सोचेभन्दा उपलब्धीपुर्ण रहेको दावी गरे ।

उनी बुधबार बिहान स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट गर्दै मुख्यमन्त्री शाहीले तिब्बत भ्रमण सफल र उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिए ।

भ्रमणका क्रममा त्यहाँका सरकारसँग कर्णाली प्रदेशको राजधानी सुर्खेतको रिङरोड र सुर्खेत–बर्दियासम्मको सुरुङ मार्गको निःशुल्क सर्वे गरिदिन आग्रह गरेको र त्यस विषउमा त्यहाँको सरकार सकारात्मक रहेको बताए । संघीय सरकारले अनुमति दिए तिब्बत सरकारको लगानीमा रिङरोड निर्माण हुने उनले बताए ।

यस्तै, तिब्बतको सिचुवान, छिन्ताओ र सान्ताउ प्रदेशमा रहेको एकीकृत बस्ती जस्तै कर्णालीमा पनि वस्ती बसाउनेबारे पनि त्यहाँको एकीकृत बस्ती निर्माण गर्ने कम्पनीसँग छलफल भएको मुख्यमन्त्री शाहीले जानकारी दिए । उक्त कम्पनी एकीकृत वस्ती सकारात्मक रहेको उनको भनाइ छ ।

कर्णाली प्रदेश र सान्ताउ प्रदेशबीच भगिनी सम्बन्ध बनाउने बारे पनि छलफल भएको छ । संघीय सरकारले अनुमति दिएमा त्यो कार्य हुने मुख्यमन्त्री शाहीले बताए । यस्तै, वीरेन्द्रनगर र सान्ताउ सिटीबीच भगिनी शहरको सम्बन्ध बनाउनेबारे छलफल भएको उनले बताए ।

भ्रमणका क्रममा तिब्बतका विभिन्न कम्पनीहरुसँग कर्णाली प्रदेशमा लगानी गर्ने विषयमा छलफल भएको बताइएको छ । ती कम्पनीहरुले पर्यटन, पूर्वाधार, कृषि, एकीकृत बस्ती विकास र जडीबुटीमा चासो देखाएको मुख्यमन्त्री शाहीले बताए ।

तिब्बत सरकारले हिमालयसँग जोडिएका विभिन्न देशहरुको सहभागितामा बेल्ट एन्ड रोड इनिसियटिभ ९बिआरआई) सम्बन्धी तीन दिने कार्यक्रमको आयोजना गरेको थियो । नेपाल, बंगलादेश, पाकिस्तान, म्यान्मार, मंगोलियालगायत देशका मन्त्री, मुख्यमन्त्री तथा सरकारका प्रतिनिधिहरुको सभागिता रहेको उक्त कार्यक्रममा भाग लिन मुख्यमन्त्री शाही गत असोज २७ गते तिब्बत गएका थिए ।