पक्राउ परेका विप्लव नेकपाका २१ नेताको वयान लिन प्रहरीलाई सकस

काठमाडौं, दाङमा प्रक्राउ परेका विप्लवका सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ सहितका नेताहरुको बयान लिनै प्रहरीलाई समस्या भएको छ।

असोज ३० गते विहान १ बजेतिर मगराइना गाउँको एक जंगलबाट सुतेको ठाउँमै वीरजंगसहित २१ नेता कार्यकर्ताहरु पक्राउ परेका थिए।

ती नेता कार्यकर्ताको प्रहरीले वयान लिने क्रममा मौन बसिदिने तथा बोल्नै इन्कार गर्ने गरेकाले समस्या भएको प्रहरी अधिकारीले बताएका छन्।

‘उहाँहरु जति प्रयास गर्दा पनि बोल्दै बोल्नु हुन्न, जति प्रश्न सोधे पनि मौन बस्दै आउनु भएको छ। जसले गर्दा अनुसन्धान गर्न समस्या भइरहेको छ,’ जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी विनोद विक्रम साहले भने।

प्रहरी समक्ष विप्लवका दाजु ‘वीरजंग’ले आफ्नो परिचय र पार्टीको हैसियत बताए पनि अन्य कुरा बोल्न इन्कार गर्दै आएका छन्। बोलेका सीमित कुराहरु पनि झुटो पाइएको प्रहरीले जनाएको छ।

‘बरामद मोवाइल स्कृनमा त्यही व्यक्तिकै फोटो हुन्छ, तर त्यही फोटो र मोवाइल देखाउँदा त्यो मेरो हुँदै हैन भन्ने सम्मको झुट बोल्ने गरेका छन्,’ डिएसपी शाहले भने ‘उनीहरुले पार्टीको हैसियत समेत बताउन मानिरहेका छैनन्।’

बोल्न नमान्ने प्रवृत्तिकै कारण उनीहरुको नाम र ठेगाना पत्ता लगाउन समेत प्रहरीलाई समस्या भएको थियो। केन्द्रीय सदस्य, मध्यपश्चिम कमाण्ड र राप्ती व्यूरो प्रमुखसहित पक्राउ परेका २१ नेता कार्यकर्ताको नाम प्रहरीले सार्वजनिक गर्नु भन्दा पहिलै विप्लवका स्थानीय नेताहरुको सहयोगमा पत्रकारले सार्वजनिक गरेका थिए।

आफूहरु राजपुर गाउँपालिका वडा नं. ४ स्थित मगराइना गाउँमा वनभोज खान गएको दाबी विप्लवका नेताहरुले गर्दै आएका छन्।

‘हामी जंगलको डाँडोमा रमाइलो गर्दै वनभोज खान गएका थियौं । के जंगलमा रमाईलो गर्न र भात पकाएर खान पाउने अधिकार हामीलाई छैनरु भनेर उल्टै प्रश्न गर्छन,’ एक अनुसन्धान अधिकारीले भने ‘त्यो भन्दा बढी उहाँहरु बोल्दै बोल्नु हुन्न।’

मगराइना गाउँका स्थानीयले पनि विप्लवका नेता कार्यकर्ता असोज २९ गते खसी डोर्‍याउँदै त्यहाँ आएको बताएका छन्। त्यहाँ आएर उनीहरुले खसी काटेर आफै पकाएर मासु भात खाएको स्थानीयले बताएका छन्।

पक्राउ परेको ५ दिनसम्म पनि विप्लवका नेताहरुले प्रहरीसँग बोल्न इन्कार गर्दै आएकाले उनीहरुबाट बरामद कागजातको सुक्ष्म अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

‘उहाँहरुले बोल्न इन्कार गरेको हुँदा अब प्राप्त दस्ताबेजहरुको सुक्ष्म अध्ययन र अनुसन्धानमा लागेका छौं’ जिल्ला प्रहरी प्रबक्ता साहले भने ‘दस्ताबेज अध्ययनले विप्लवका धेरै आन्तरिक तथा गोप्य योजनाहरु खोलिरहेको छ।’

दाङ देउखुरी जिल्ला अदालतले पक्राउ परेका विप्लवका २१ नेताहरुको अनुसन्धानको लागि कात्तिक १ गते पाँच दिनको म्याद उपलब्ध गराएको थियो। त्यो म्याद बुधबार सकिन लागेकाले फेरि थप्न मागसहित प्रहरीले उनीहरुलाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ। सेतोपाटी