सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं, सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।आइतवार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका गुरुङलाई साधारण तारेखमा रिहा गर्न पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले आदेश दिएको छ ।

ज्यान मार्ने उद्योग अन्तर्गत पक्राउ पुर्जी जारी भएपछि दोलखाका सांसदसमेत रहेका नेकपाका नेता पार्वत गुरुङ आइतवार जिल्ला अदालतमा उपस्थित भएका थिए ।

ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको थियो । गुरुङको नाममा जारी भएको पक्राउ पुर्जी गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले बुझेका थिए ।

वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।
सांसद गुरुङविरुद्ध खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए ।
सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ ।

सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौँको गौशालामा आक्रमण भएको थियो । त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । गुरुङ मंसिर ०७४ मा दोलखाबाट संघीय संसद्‍मा सबैभन्दा धेरै मत पाएर विजयी भएका थिए ।