अब बागमतीको पानीले ढुक्कसंग नुहाउन मिल्ने

यस्तो बन्दैछ बाग्मतीलाई सफा बनाउन प्रशोधन केन्द्र

काठमाडौं, अबको ३ महिनापछि बागमतीको पानीमा भक्तजनहरुले ढुक्कसंग नुहाउन सक्नेछन् । पशुपतिनाथ मन्दिरबाट १ किलोमिटर अगाडि गुहेश्वरीमा स्थापना भएको बागमतीको फाहोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएसंगै भक्तजनहरुले ढुक्कसंग नुहाउन सक्ने भएका हुन ।  शनिवार खानेपानी मन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना कार्यान्वयन इकाइका प्रमुख भोजविक्रम खड्कालगायतको टोलीले पानी प्रशोधन केन्द्रको अवलोकन गरेको हो । आयोजनास्थलको अवलोकन गर्दै मन्त्री मगर पानी प्रशोधन हुने प्रक्रियाबारे जानकारी लिँदै समयमै काम सक्न निर्देशन समेत दिएकी छिन्।

प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै पशुपति क्षेत्रमा बागमती नदीमा नुहाउन मिल्ने सरकारको दाबी छ । बाग्मतीलाई ढलरहित बनाउने अभियानमा यो निकै महत्वपूर्ण आयोजना भएको भन्दै मन्त्री मगरले भनिन्,’पशुपतिनाथका भक्तजनहरुले बाग्मतीको पानी पिउन नसकेपनि नुहाउनसक्ने बन्नेछ ।’ अहिले काठमाडौं उपत्यकामा घरघरबाट निस्कने ढल सिधै नदीमा मिसाइन्छ । यसले पानीकास्रोत प्रदुषित मात्रै भएको छैन, काठमाडौंको सभ्यतामाथि नै प्रश्न उठेको छ । तर, अब योजनाअनुसार काम भयो भने केही वर्षभित्रै ढल प्रशोधन गरेर खोलामा मिसाउने मात्र छैन, त्यसबाट बिजुली निकालिनेछ । त्यसका लागि गुहृयेहृवरीमा जस्तै सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण, र चल्नाखेलमा ढल प्रशोधन केन्द्र निर्माण भइरहेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तरगतको आयोजना कार्यान्वयन इकाई (पीआईडी)ले ढल प्रशोधन केन्द्रहरुको निर्माण गरिरहेको छ । यो काम सकिएपछि ढल सीधै खोला वा नदीमा नमिसाइने मन्त्री मगरले जानकारी दिइन् । त्यसकै लागि विभिन्न खोला र नदीका कोरिडोरमा ढलका ठूला पाइप बिछ्याउने काम भइरहेको छ । त्यसपछि ढलहरु प्रशोधन केन्द्रसम्म पुग्ने गरी ढल प्रणालीमा जोडिनेछ ।

ढललाई प्रशोधन केन्द्रसम्म पुर्‍याएर विभिन्न चरणमा प्रशोधन गरिनेछ । त्यसक्रममा ग्यास समेत निस्कनेछ । त्यो ग्यास प्रयोग गरेर बिजुली निकाल्ने योजना छ । गुह्येश्वरीबाट मात्र २४० किलोवाट बिजुली निकाल्ने बताइएको छ । गुहेश्वरीमा दैनिक ३ करोड २५ लाख लिटर पानी प्रशोधन गर्न सक्ने प्लान्ट बनेको छ । सल्लाघारीमा १ करोड ४० लाख लिटर र कोड्कुमा १ करोड ७५ लाख लिटर ढल प्रशोधन गर्नसक्ने प्लान्ट निर्माण गरिँदैछ । धोबीघाटमा दुई ३ करोड ७० लाख लिटरका दुई वटा प्लान्ट निर्माण गर्न लागिएको छ ।

अहिले पीआईडीले १०१ किलोमिटर खोला नदी किनार क्षेत्रमा ढलको इन्टरसेप्टर निर्माण गरिरहेको छ । पीआईडीले हनुमन्ते, मनोहरा र खसाङखुसुङ खोलाको किनारमा इन्टसेप्टर जोड्ने काम गरिरहेको छ । बाग्मती, विणुमती, धोबीखोला, मनमतिखोला लगायतमा अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले काम गरिरहेको छ । २ अर्ब ५५ करोड रुपैयाँ लागत रहेको गुहेश्वरीको प्रशोधन केन्द्रको निर्माण भारतीय कम्पनी भीभए टेक वाबागले गरिररहेको छ ।

लेदोबाट कम्पोष्ट मल, ग्यासबाट बिजुली

६ किलोमिटर बागमती नदीको पानी प्रशोधनका क्रममा दैनिक ७ टन लेदो जम्मा हुने अनुमान गरिएको छ । यसरी जम्मा भएको लेदोको ग्यासबाट दैनिक ३ सय २० किलोवाट बिद्युत उत्पादन हुनेछ भने लेदोबाट प्रतिदिन ७ टन कम्पोस्ट मल निस्कनेछ ।

यसरी निस्किएको मल अन्नबाली तथा तरकारी खेतीका लागि उपयुक्त हुने काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना प्रमुख सुरत बमले जानकारी दिए । ग्यास उत्पादनका लागि पानी प्रशोधन केन्द्रमा ‘एनेरोबिक डाइजेष्टर’को निर्माण गरिएको छ । सो स्थानमा यसअघि निर्माण भएको पुरानो प्रशोधन केन्द्र र नयाँ अत्याधुनिक प्रशोधन केन्द्रबाट पनि पानी प्रशोधन गरिने भएको छ । यहाँबाट प्रशोधन भएको पानी पिउन योग्य नभएपनि नुहाउनसम्म हुने जानकारी दिइएको छ ।

आयोजना प्रमुख लिलाप्रसाद ढकालले हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा सफा पानी बहने भन्दै ढुक्क भएर नुहाउन सकिने पनि जानकारी दिए । ‘प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि पौडी खेल्न र पशुपति क्षेत्रमा ढुक्क भएर नुहाउन सकिन्छ’, उनले भने, ‘हामीले आयोजना आगामी पुसभित्र सम्पन्न गर्नेगरी काम गरिरहेका छौं । अहिलेको प्रगतिको अवस्था हेर्ने हो भने ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’ फोहोर पानी प्रशोधन केन्द्रमा पानीमा बगेर आएको फोहोर तथा लेदो संकलन गर्ने प्रविधि रहेको छ । एउटा गन्ध आउने यूनिट रहने र अर्को गन्ध नआउने युनिट रहन्छ ।