नवलपरासीमा गैंडा आक्रमण : एकजनाको मृत्यु, एक घाइते

नवलपरासी, गैंडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन्।आइतबार खुला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैंडाको आक्रमणबाट मृत्यु भएको हो। उनको शव सोही सामुदायिक वनमा आइतबार साँझ नै स्थानीयवासीले फेला पारेका थिए। स्थानीयवासी वनभित्र दाउरा र खर काट्न गएका बखत आक्रमणमा परी तामाङको मृत्यु भएको सामुदायिक वनका पूर्वअध्यक्ष बलिराम महतोले बताए।

कावासोती–१३ कै ३३ वर्षीय बुद्धिमाया गुरुङलाई पनि गैंडाले आक्रमण गरेको थियो। आक्रमणमा परी घाइते भएकी उनकोे भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

सामुदायिक वनमा वैन पैदावार निकासी खुलाउँदा विशेष सावधानी अपनाउनुपर्नेमा त्यसो नगर्दा दुर्घटना भएको पूर्वअध्यक्ष महतोले बताउँछन्। सीमित क्षेत्रमा सुरक्षाको प्रबन्ध गरी वन पैदावर निकाल्न अनुमति दिँदा यस्ता किसिमका दुर्घटना हुनबाट जोगिन सकिने उनको भनाइ छ।रासस