रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

गौर, रौतहटमा एक युवकको गोली हानी हत्या गरिएको छ ।जिल्लाको इशनाथ नगरापलिकामा आइतबार साँझ एक युवकलाई गोली हानी हत्या गरिएको हो । प्रहरीका अनुसार गोली हानी मारिएका व्यक्तिको पहिचान खुलेको छैन ।

इशनाथ गाउँपालिका–६ अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रभन्दा करिब १ किलोमिटर नेपालतर्फ गोली चलेको थियो । स्थानीयका अनुसार ३ जना युवक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए । सँगै ३ जना युवकमध्ये १ जना मोटरसाइकलबाट ओर्लिएका थिए ।

मोटरसाइकलबाट ओर्लिएका व्यक्तिमाथि अन्य २ जनाले गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहार गर्नेहरु मोटरसाइकल चढेर पुनः भारतर्फ गएको स्थानीयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले मारिने व्यक्ति भारतीय नै हुनसक्ने जनाएको छ । यद्यपि घटनाको सम्बन्धमा थप अनुसन्धान भने जारी रहेको प्रहरीको भनाइ छ ।