चीनका राष्ट्रपति सी नेपालको राजकीय भ्रमणमा, विमानस्थलमा भव्य स्वागत

काठमाडौं, दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं उत्रिएका चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भव्य स्वागत गरेका हुन् ।अपराह्न ४ः४७ मा विशेष विशेष विमानबाट काठमाडौं अवतरण भएका सीको स्वागतमा चिनियाँ नागरिक समेत सडकमा आएका छन् ।

सीको स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी विमान अगाडि नै गएकी थिइन् । राष्ट्रपति सीको स्वागतमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि विमानअघिल्तिर पुगेका थिए ।

राष्ट्रपति सीलाई अति विशिष्ट कक्षमा पुर्याउन चारवटा बुलेट प्रुफ गाडी झिकाइएको थियो ।

अतिविशिष्ट कक्षमा राष्ट्रपति सीले प्रधानमन्त्रीसँग केहीबेर भलाकुसारी गर्नेछन् । त्यसपछि राष्ट्रपति सीलाई नेपाली सेनाको विशेष टुकडीले २१ तोपको सलामीसहित सम्मान गारद प्रदान गर्नेछ । त्यसपछि राष्ट्रपति सी होटल सोल्टीमा केहीछिन आराम गर्नेछन् ।

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच साँझ ६ः३० बजे भेटवार्ता हुनेछ भने त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता हुने कार्यक्रम रहेको छ।