जस्ले आफ्नै बिरामी सासुको घाँटी थिचेर हत्या गरिन….

रामेछाप, रामेछाप जिल्लामा एक बुहारीले बिरामी भएर ओछ्यानमा थला परेकी सासुको घाँटी थिचेर हत्या गरेकी छिन् ।रामेछाप खाँडादेवी गाउँपालिका–४ तल्लोटारीस्थित ७२ बर्षकी चरी भन्ने काली गिरीलाई उनको बुहारी निर्मला गिरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी सन्तोष भट्टराईले बताए ।

उहाँले विगत तीन बर्षदेखि बिरामी भएर घरकै थला परेर बसेकी गिरीको घाँटीमा लिलडाम देखिएपछि प्रहरीले मृत्यु शंकास्पद भएको भन्दै अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा उनकी बुहारीले निर्मलाले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको बयान दिएको प्रहरीले बताएको छ । हत्या गरेको किटानी जाहेरी परेपछि प्रहरीले निर्मलालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको डिएसपी भट्टराईले बताए ।

घटनाको अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रवि भुषण यादवको नेतृत्वमा आठ सदस्य टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । मृतक गिरीको शवको पोष्टमार्टम गर्नको लागि टिचिङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकेन्द्र पौडेलले जानकारी दिए ।